site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
गण्डकीको बजेटमा मिलेन ‘नौ लाख’ को हिसाब

काठमाडौं । गण्डकी प्रदेश सरकारले आइतबार ल्याएको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा नौ लाख रुपैयाँको हिसाब नमिलेको पाइएको छ । आइतबार प्रदेशसभामा आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले बजेट (राजस्व र व्यय अनुमानको विवरण) प्रदेशसभामा पेस गरेका थिए ।

वक्तव्यमार्फत उनले कुल ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरे । बजेटमा चालु खर्चका लागि १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ३९.५ प्रतिशत हो । यस्तै, पुँजीगत खर्चका लागि १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ छुट्याइएको छ, जुन कुल बजेटको ५९.७ प्रतिशत हो । त्यसैगरी, वित्तीय व्यवस्थातर्फ २५ करोड ७८ लाख रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ०.८ प्रतिशत हो । 

सरकारको यो व्यय विवरण मिलेको छ । तर, आय विवरण भने नौ लाखले कम देखिएको छ । अर्थात् खर्च हुने बजेटभन्दा नौ लाख रुपैयाँ कम आम्दानी हुने तथ्यांकले देखाउँछ ।

सरकारले बजेटको स्रोतका रूपमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानबाट सात अर्ब ७३ करोड ८९ लाख, राजस्व बाँडफाँटबाट नौ अर्ब ७९ करोड २९ लाख ४० हजार, रोयल्टी बाँडफाँटबाट ४९ करोड ८९ लाख ७७ हजार, सशर्त अनुदानतर्फ तीन अर्ब ३५ करोड ६४ लाख, समपूरक अनुदान ६३ करोड ९७ लाख र विशेष अनुदानबाट ४९ करोड ८६ लाख प्राप्त हुने जनाइएको छ ।  त्यसबाहेक प्रदेशले आन्तरिक राजस्वबाट पाँच अर्ब ४५ करोड ८४ लाख ८८ हजार संकलन गर्ने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम कार्यान्वयनपश्चात् दुई अर्ब २४ करोड ५० लाख ९४ हजार नगद मौज्दात रहने मन्त्री गुरुङले जनाए । सरकारले नपुग एक अर्ब ७५ करोड आन्तरिक ऋण लिने जनाएको छ । योमध्ये पनि सरकारको बजेट नौ लाखले कम हुने देखिन्छ ।

प्रकाशित मिति: आइतबार, असार १, २०८२  २१:२३
प्रतिक्रिया दिनुहोस्