परमाणु सम्झौतामा सहमत हुन इरानलाई चेतावनी दिँदै ट्रम्पले भने– अझै निर्दयी हमला हुनसक्छ
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु सम्झौतामा सहमत हुन चेतावनी दिँदै सम्झौता नगरेमा यसपछिका इजरायली हमलाहरू अझै निर्दयी र कडा हुने बताएका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले लेखे, “इरानी नेताहरूले के हुँदैछ भन्ने थाहा पाउन सकेनन् । यो अझ बढ्नेछ ।”
“पहिले नै ठूलो मृत्यु र विनाश भइसकेको छ । तर यो नरसंहार रोक्न अझै समय छ । अर्को योजनाबद्ध हमला अझ निर्दयी हुनेछ,” ट्रम्पले लेखे, “इरानले सम्झौता गर्नुपर्छ, एक समयमा इरानी साम्राज्य भनेर चिनिने कुरालाई बचाउने हो भने ।”
हालका हप्ताहरूमा इरानसँगको नयाँ परमाणु सम्झौताका लागि वाता तीव्र भएको थियो, तर इरानले युरेनियम विकास गर्ने आफ्नो अधिकारमा जोड दिनु प्रमुख बाधाको रूपमा अगाडि देखापरेको छ ।