site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
योजना आयोगको दाबी : बजेटले राजनीतिज्ञभन्दा उपभोक्ता खुसी पार्छ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले अहिलेको बजेट राजनीतिक रूपमा भन्दा उपभोक्तालाई खुसी बनाउने र उपभोक्तामैत्री बजेट आएको दाबी गरेका छन् । 

उपभोक्ता हित संरक्षण मञ्चले बुधबार काठमाडौंमा गरेको नेपाल सरकारको आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रममा बजेट प्रक्रिया र आपूर्ति नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताको रूपमा बोल्दै उपाध्यक्ष अधिकारीले यसअघि आयोजना परे पनि उपभोक्तासम्म नपुग्ने र फल प्राप्ति नहुने अवस्था रहेको बताए । 

उपभोक्तासम्म नपुग्ने आयोजनाको अर्थ नहुने समेत उनले बताए । फल प्राप्त नहुँदासम्म त्यसलाई सफल भएको मान्न नसकिने उनको भनाइ छ । 

कतिपय आयोजना न्यूनतम १० वर्षदेखि एक सय दुई वर्षसम्म लाग्ने खालका रहेको भन्दै उनले मन्त्रालयका विभिन्न सचिव तथा सांसदलाई राखेर अवस्थाबारे जानकारी गराएपछि यथार्थतामा आधारित बजेट बनाउन लागेको उनले बताए । 

यसअघि सांसदहरूले आयोजना माग्ने, आयोजना पर्‍यो भने त्यसैका आधारमा भोट पाइन्छ भन्ने, तर सम्पन्न नहुने र उपभोक्तामाझ नपुग्ने अवस्था रहेको बताए । बजेटको स्रोत नभएर भन्दा पनि स्रोतलाई परिचालन गर्न नजानेको उनको भनाइ छ । 

बजेटको सिलिङ दिने बेला पहिलोपटक म्याक्रो मोडलिङ प्रयोग गरेको २१ देखि २४ खर्बको हाराहारीमा आउन लागेको बजेटलाई रोकिएको समेत उनले बताए । 

पहिलोपटक योजना आयोगले विधि र पद्धति सिकाएपछि परिणाम र रिफ्लेक्सनबाट बजेट आएको र कनिका छरेजस्तो, लोकप्रिय हुने शीर्षकहरू नआएको, ८/१० वटा शब्द भनेपछि बजेटको मूल्यांकन गर्ने परिपाटीको अन्त्य भएको दाबी गरे । 

तीन करोडको परियोजना राख्न धेरै संघर्ष गर्न परेको बताउँदै उनले मन्त्रालयहरू तयार नभएपछि तीन करोडमुनिका आयोजना प्रविष्ट गर्नै नमिल्ने बनाउनुपरेको जिकिर गरे । 

आयोजना बैंकमा प्रविष्ट नभएको आयोजना कार्यान्वयनमा जान नसक्ने बनाएको र यदि त्यस्ता आयोजना देखिए पनि कार्यान्वयनमा नजाने उनले ठोकुवा गरे । 

राष्ट्रिय योजना आयोग वित्तीय अनुशासन कायम गर्न सुधारका कार्यहरू गर्दै सूक्ष्म ढंगले अगाडि बढेको उनको भनाइ छ । 

बजेटमा एफडीआईलाई मात्र नभएर डीडीआईलाइ समेत फोकस गरिएकाले रोजगारी सिर्जना हुने अर्थतन्त्रलाई विविधीकरण र एकीकरण गर्ने उनले दाबी गरे । 

हिजोको जस्तो योजना आयोगले आयोजना पार्ने र रातो किताबको भाग दुई प्रकाशन गर्नेतर्फ नजाने उपाध्यक्ष अधिकारीले बताए । आयोग आफ्नो क्षेत्र आफैँ पहिचान गरेर हिजोको भन्दा फरक गति र तरिकाबाट अघि बढेको उनको दाबी छ । 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  २१:००
प्रतिक्रिया दिनुहोस्