site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वंशवादमा आधारित निरंकुश राजतन्त्र सम्भव छैन : प्रचण्ड

गोरखा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा वंशवादमा आधारित निरंकुश राजतन्त्र अब असम्भव भएको बताएका छन् ।

मंगलबार (जेठ १३) गोरखास्थित भीमसेन थापा गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै उनले २१औँ शताब्दीको युगमा निरंकुशतन्त्र र वंशवादलाई जनताले स्वीकार गर्न नसक्ने बताए । नेपाली जनताले युद्ध र आन्दोलनबाट ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले फर्काउन नसक्ने उनको भनाइ थियो ।

“राजावादी आन्दोलनका नाममा तीनकुने घटनापछि एउटा पात्र पछाडि राखेर फेरि अर्को पात्र सिँगारपटार गरेर अगाडि ल्याउन खोजिएको छ,” उनले भने, “यही १५ गतेदेखि फेरि आन्दोलनको कुरा गरिरहेका छन्, त्यो सफल त हुनेवाला छैन, तर पनि हामी सजग त हुनुपर्छ ।”

अध्यक्ष प्रचण्डले जनतामा नैराश्य बढाउने काम नगर्न आफूहरूले सरकारलाई पनि निरन्तर खबरदारी गर्दै आएको बताए । संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि नेपालमा गुणात्मक सुधार भएको उनले उल्लेख गरे । यसलाई थप सुदृढ गर्दै लैजानुपर्नेमा उनले जोड दिए ।

शान्ति, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति नेपाली कांग्रेस र माओवादीबीच ऐतिहासिक सम्बन्ध बनेको भन्दै उनले शान्तिलाई दिगो बनाउन दुई दल मिलेर जानुको विकल्प नभएको बताए । “राजनीति र अरू कुरामा आफ्ना–आफ्ना फरक मत र विचार भए पनि शान्ति सम्झौतालाई दिगो बनाउन हामी मिलेर जानुको विकल्प छैन,” उनले भने । रासस

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  २०:३८
प्रतिक्रिया दिनुहोस्