किन राजीनामा दिन चाहन्छन् मोहम्मद युनुस ?
काठमाडौं । अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले राजीनामा दिने इच्छा व्यक्त गरेको समाचारले बंगलादेशमा राजनीतिक बहस चलिरहेको छ ।
राष्ट्रिय नागरिक पार्टी (एनसीपी)का संयोजक नाहिद इस्लामले बिहीबार प्रमुख सल्लाहकार युनुसलाई उनको निवासमै पुगेर भेटेका थिए ।
मोहम्मद युनुसले प्रमुख सल्लाहकारको पदबाट राजीनामा दिन लागेको जानकारी पाएपछि आफूले उनलाई भेटेको इस्लामले बीबीसी बंगलासँग भनेका थिए ।
यसैबीच, बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी)ले राष्ट्रिय सुरक्षा सल्लाहकारसहित अन्तरिम सरकारका सबै विवादास्पद सल्लाहकारहरूलाई हटाउन माग गर्दै आएको छ ।
यसअघि बीएनपी नेता इशराक हुसेनका समर्थकले पनि स्थानीय सरकार सल्लाहकार आसिफ महमुद सञ्जीव भुइयान र सूचना सल्लाहकार महफुज आलमको राजीनामाको माग गर्दै ढाकाको सडकमा विरोध प्रदर्शन गरेका थिए ।
एनसीपीका एक एक शीर्ष नेताले अन्तरिम सरकारका तीन सल्लाहकारलाई ‘बीएनपी प्रवक्ता’ भनेर आरोप लगाएका थिए । सुधारका सिफारिस कार्यान्वयन नभएमा उनीहरूलाई राजीनामा दिन बाध्य पार्ने उनले धम्की दिएका थिए ।
यसमा कानुनी सल्लाहकार प्रोफेसर आसिफ नजरुल, वित्त सल्लाहकार सलाहुद्दिन अहमद र योजना सल्लाहकार डा. वाहिदुद्दिन महमुद छन् ।
यहीबीचमा, सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले आफ्नो पदबाट राजीनामा दिन चाहेको हल्ला फैलिएको हो ।
उक्त हल्लासँगै विभिन्न राजनीतिक दल, समाजका विभिन्न वर्गका साथै व्यापारिक जगतका व्यक्तिहरूले यस विषयमा विभिन्न प्रतिक्रिया दिइरहेका छन् ।
मोहम्मद युनुसलाई भेटेपछि एनसीपीका नाहिद इस्लामले भने, “देशको वर्तमान अवस्थालाई लिएर प्रमुख सल्लाहकारको राजीनामाको खबर हामीले आज बिहानदेखि नै सुनिरहेका छौँ । म यस विषयमा बुझ्नका निम्ति उहाँलाई भेट्न गएको हुँ ।”
भेटमा प्रमुख सल्लाहकारले वर्तमान परिस्थितिबारे चिन्ता व्यक्त गर्दै यही अवस्थामा काम गर्न सक्षम नहुने बताएको इस्लामले बताए ।
इस्लामसँगको भेटमा युनुसले यदि सबै राजनीतिक दल सहमतिमा नआए आफू काम गर्न नसक्ने बताएका थिए । जनआन्दोलनपछि आफूलाई यो पदका निम्ति छनोट गरिएको, तर अहिले चलिरहेको आन्दोलनका कारण आफूहरू बन्धक बनेको भन्दै यस्तो अवस्थामा काम गर्न सम्भव नरहेको प्रमुख सल्लाहकारलाई उद्धृत गर्दै नाहिदले भने ।
भेटमा नाहिद इस्लामले प्रमुख सल्लाहकारलाई आफ्नो पद नछाड्न सल्लाह दिएको बताए । उनले प्रोफेसर युनुसलाई आमजनताको आन्दोलन, राष्ट्रिय सुरक्षा र देशको भविष्यको आशालाई अगाडि बढाउन दृढ रहँदै काम गर्न पनि आग्रह गरे ।
राजीनामाको बारेमा मोहम्मद युनुसको दृष्टिकोणको बारे नाहिद इस्लामले भने, “यदि राजनीतिक दलहरूले नै उनको राजीनामा चाहन्छन् भने... उनी किन बस्ने ?”
इस्लामका अनुसार प्रमुख सल्लाहकारले राजीनामाको विषयमा विचार गर्ने बताएका छन् । इस्लामले भने, “मोहम्मद युनुसले आफ्नो राजीनामाबारे विचार गर्ने आश्वासन दिएका छन् । उनलाई लागेको छ, अहिलेकैपरिस्थितिमा भने काम गर्न सक्षम हुने छैनन् ।” बीबीसी