मोदीको सम्बोधनमा पाकिस्तानको खण्डन : आतंकवादबाट हामी आफैँ पीडित छौँ
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार देशवासीका नाममा गरेको सम्बोधनको पाकिस्तानले खण्डन गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेर मोदीको भाषणलाई ‘उत्तेजक बयान’को संज्ञा दिएको छ । भारतीय सेनाले पाकिस्तानविरुद्ध गरेको ‘अपरेशन सिन्दूर’पछि प्रधानमन्त्री नरेन्द्र मोदीले मे १२ को राति पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गरेका थिए ।
मोदीले आफ्नो भाषणमा आणविक आक्रमणको धम्कीबाट आफू विचलित नहुने नहुने बताएका थिए । मोदीले आफ्नो सम्बोधनमा भनेका थिए, “भारतीय सेनाले पाकिस्तानमा रहेको आतंकवादी शिविर र उनीहरूका तालिम केन्द्रहरूमा सटिक हमला गर्यो... आतंकवादविरुद्धको भारतको कारबाहीलाई समर्थन गर्नुको सट्टा पाकिस्तानले भारतमाथि आक्रमण गर्न थाल्यो ।”
त्यसको जवाफमा पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “यस क्षेत्रमा शान्ति र स्थायित्व कायम राख्न अन्तर्राष्ट्रिय प्रयास भइरहेको बेला यो कथनले गलत सूचना, राजनीतिक अवसरवाद र अन्तर्राष्ट्रिय कानुनको स्पष्ट अवहेलनामा आधारित खतरनाक उत्तेजनालाई प्रतिनिधित्व गर्दछ।”
मोदीले भनेका थिए, “भारतले तीन सिद्धान्तमा निर्णय गरेको छ । पहिलो, यदि भारतमा आतंकवादी आक्रमण भयो भने भारतले आफ्नै तरिकाले, आफ्नै सर्तमा, आफ्नै समयमा जवाफ दिनेछ । दोस्रो, भारतले कुनै पनि आणविक ब्ल्याकमेल सहन गर्दैन । र तेस्रो, हामी आतंकवादलाई प्रायोजन गर्ने सरकार र आतंकका मालिकहरूलाई अलग–अलग हेर्ने छैनौँ ।”
जवाफमा पाकिस्तानले भनेको छ, “भारतले कुनै गल्ती गर्नु हुँदैन । हामी आगामी दिनमा यस सम्बन्धमा भारतको कार्य र व्यवहारको नजिकबाट समीक्षा गर्नेछौँ । हामी अन्तर्राष्ट्रिय समुदायलाई पनि त्यसै गर्न अनुरोध गर्नेछौँ ।”
पाकिस्तानले भारतविरुद्ध आत्मरक्षाको लागि भारतीय सैन्य अड्डाहरूलाई मात्र निशाना बनाएको दाबी गरेको छ ।
पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पाकिस्तान युद्धविराम र यस क्षेत्रमा तनाव कम गर्न प्रतिबद्ध छ । धेरै मित्र राष्ट्रहरूको प्रयासबाट युद्धविराम सम्भव भएको हो । युद्धविरामको चाहनालाई पाकिस्तानसँग जोड्नु गलत हो ।”
वक्तव्यमा पाकिस्तानले आफूलाई ‘आतंकवादबाट पीडित’ भनेको छ । बीबीसी