पाकिस्तानमा रहेका नेपालीको सुरक्षामा सरकार सचेत, परराष्ट्र भन्छ– निरन्तर सम्पर्कमा छौँ
काठमाडौं । परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका नेपाली विद्यार्थी र अन्य नेपालीहरूको सुरक्षामा नेपाल सरकार पूर्ण रूपमा सचेत रहेको बताएको छ ।
पाकिस्तान र भारतबीच तनाव बढ्दै गएपछि परराष्ट्रले शुक्रबार एक विज्ञप्ति जारी गरी पाकिस्तानमा रहेका नेपाली विद्यार्थी तथा नेपालीहरूसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ ।
“हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ नेपाल सरकार पूर्ण रूपमा सचेत छ,” परराष्ट्रले विज्ञप्तिमा भनेको छ, “यसको निमित्त पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ ।”
यस सम्बन्धमा तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उनीहरूका अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली दूतावासलाई सम्पर्क गर्ने सक्ने परराष्ट्र जनाएको छ ।
परराष्ट्रले पाकिस्तानमा रहेका नेपालीलाई तत्काल कुनै सहयोग आवश्यक परेमा दूतावासका तृतिय सचिव वृन्दा सुवेदीलाई ९२–३३१३२९३११९ नम्बर र आर्सलान मेहमुदलाई ९२–३४०५१७४२६१ नम्बरमा फोन गर्न अनुरोध गरेको छ ।