‘बेहुली फ्रम मेघौली’ले ओटीटीमा कति गर्यो कलेक्सन, के भन्छन् निश्चल ?
काठमाडौं । चलचित्र ‘बेहुली फ्रम मेघौली’ले ओटीटीमा दर्शकको राम्रो साथ पाएको छ । हलबाट उतारेर डिजिटल प्लेटफर्म ‘एमएसएम भिडियो’मा रिलिज गरिएको चलचित्रलाई दर्शकको उल्लेख्य साथ मिलेको हो ।
‘बेहुली फ्रम मेघौली’का निर्माता समेत रहेका कलाकार निश्चल बस्नेतका अनुसार १० दिनमा १९ हजार दर्शकले यो चलचित्र हेरेका छन् । हिन्दी सिनेमालाई प्राथमिकता दिएर आफ्नो चलचित्रलाई कोपभाजनमा पारेको भन्दै निश्चलले हलमा चलिरहेकै समय ‘बेहुली फ्रम मेघौली’ उतारेका थिए ।
हलबाट उतारेर ‘एमएसएम भिडियो’मा रिलिज गरेका निश्चलले त्यहाँ पनि दर्शकको साथ पाएका हुन् ।
“हाम्रो लक्ष्य दुई/तीन महिनाभित्र करिब ५० हजार दर्शकलाई ओटीटीमार्फत सिनेमा देखाउने हो,” निश्चल बाह्रखरीसँग भन्छन्, “नयाँ एप भएकाले देखिएका समस्या समाधान गर्दै अगाडि बढ्दै छौँ ।”
अहिले ल्यापटप, डेस्कटपमा हेर्न नमिले पनि दुई हप्ताभित्र जुनसुकै ल्यापटपमा पनि हेर्न सकिने व्यवस्था मिलाइने उनले जानकारी दिए । “पाइरेसीको डरले अहिले हामीले ल्यापटपमा हेर्न नसकिने व्यवस्था गरेका छौँ । तर एपलाई सुरक्षित बनाएर टेलिभिजनमा पनि हेर्न सकिने प्रबन्ध गर्दैछौँ,” निश्चल भन्छन्, “टेलिभिजनमा एप नै डाउनलोड गरेर सिनेमा हेर्न सकिने व्यवस्था गरेपछि ट्राफिक बढ्नेछ ।”
१० दिनमा १९ हजारले हेर्नु पनि राम्रो भएको उनको भनाइ छ । “अहिलेसम्म ओटीटीमा चाँडै यति धेरै हेरिएको सम्भवत यो पहिलो चलचित्र हो,” उनी अगाडि थप्छन्, “एक/डेढ वर्षमा ४०/५० लाख कलेक्सन गर्ने गरेको हामीले सुनेको हो । त्यसैले यो ट्राफिक सम्भवत अहिलेसम्मकै उच्च हो ।”
१९ हजार दर्शकले हेर्दा चलचित्रले कति कलेक्सन गर् त्यो भने यकिन हिसाब नरहेको उनी बताउँछन् । “नेपालमै दुईवटा प्राइस छ । विदेशमा पनि दुईवटा प्राइस छ,” उनले भने, “नेपालमा एक दिनका लागि २९८ र एक साताका लागि ४२० रुपैयाँ छ । विदेशमा ४.९९ र ७.९९ डलर छ । त्यसैले कलेक्सन कति भयो भनेर भन्न चाहिँ हिसाब नगरी कठिन छ ।”
राम्रो चलचित्र बनाएको अवस्थामा ओटीटीमा पनि राम्रो सम्भावना रहेको निश्चल बताउँछन् । “हाम्रो चलचित्रमा आएको ट्राफिकले पनि ओटीटीमा राम्रो सम्भावना रहेको पुष्टि गरेको छ,” उनी भन्छन्, “ओटीटीमा रिलिज गर्ने हो भनेर मेकिङमा सम्झौता चाहिँ गर्नु हुँदैन । राम्रो चलचित्र बनाएर पब्लिसिटी पनि त्यही हिसाबको गर्ने हो भने ओटीटी पनि सिनेमाको राम्रो बजार हो ।”
चलचित्रमा निश्चलसँगै स्वस्तिमा खड्का, बसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।
ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रमा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ । यो उनीहरूको डेब्यु निर्देशकीय चलचित्र हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।
अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्राफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन छ ।