पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा
काठमाडौं । नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । तोकिएको समयमा महासंघको निर्वाचन हुन नसक्ने अवस्था आएको भन्दै उनले राजीनामा दिएको बताएका छन् ।
“व्यक्तिगत र पदाधिकारीको हैसियतले सदस्यताको छिनाझप्टीमा कतै संलग्न नभए पनि २०८१ साल असोज १२ गते तोकिएको निर्वाचन हुन नसकेकोसहित महासंघबाट भएका सबै कमजोरीहरूको नैतिक जिम्मेवारी लिँदै कार्यवाहक अध्यक्षबाट राजीनामा दिएको छु,” विष्टले विज्ञप्ति जारी गर्दै भनेका छन् ।
विभिन्न राजनीतिक पार्टीका भातृ संस्थाहरूले महासंघलाई आफ्नो राजनीतिक र व्यक्तिगत स्वार्थपूर्ति गर्ने मैदान बनाउँदा निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको उनले बताएका छन् ।
केही समयअगाडि अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएपछि विष्ट कार्यवाहक अध्यक्ष भएका थिए ।